नियम
मध्यस्थको सूची राख्नु पर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम मध्यस्थ नियुक्ति गर्ने प्रयोजनको लागि विभिन्न क्षेत्रका मध्यस्थ हुन योग्यता र अनुभव भएका उपयुक्त व्यक्तिहरुको नाम, थर, टेलिफोन, फ्याक्स, इमेल सहितको ठेगाना, पेशा, शैक्षिक योग्यता र विशेषज्ञताको क्षेत्र समेतका विवरण खुलाई प्रत्येक वर्ष रजिष्टारले सूची तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम मध्यस्थ हुने व्यक्तिहरुको सूची तयार गर्दा आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र वा बाहिरका  नेपालका कुनै व्यापारिक, प्राविधिक, औद्योगिक प्रतिष्ठान एवं मध्यस्थताको काम कारबाहीसंग सम्बन्धित संघ संस्थाको सहयोग लिन सकिनेछ ।
(३) उपनियम (१) बमोजिम तयार गरिने सूचीमा आफ्नो नाम समावेश गरी पाउँ  भनी कुनै व्यक्तिले निवेदन गर्न सक्नेछ । यसरी निवेदन गर्ने व्यक्ति मध्यस्थ हुन योग्य देखिएमा निजको नाम समेत मध्यस्थ हुने व्यक्तिहरुको सूचीमा समावेश गर्न सकिनेछ ।
(४) उपनियम (१) बमोजिम रजिष्टारले तयार गरेको विवरण सहितको सूची पुनरावेदन अदालतको पूर्ण बैठकमा पेश गरी सो बैठकबाट स्वीकृत भए पछि त्यस्तो सूची अन्तिम रुपमा तयार भएको मानिनेछ । यसरी तयार भएको सूची सर्वोच्च अदालतमा अभिलेखका लागि पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मध्यस्थ हुने व्यक्तिहरुको सूची स्वीकृत गर्दा त्यस्ता व्यक्तिहरुको योग्यता, अनुभव, आचरण, निष्पक्षता, ईमान्दारीता र प्रतिष्ठा समेतका कुराहरु उपर विचार गर्नुपर्छ ।